बिहानदेखि साँझसम्म
कहिले काही आधा रातसम्मम हिड्छु कतै
कतै दौडन्छु
हिडेर कहिल्यै नथाक्ने पाइलाहरु
हेरेर कहिल्यै नदुख्ने आँखाहरु
आजभोलि थकित देखिन्छन रे
जसले हेर्नु परिरहेछ
डकारिरहेका र भोका मान्छेहरु
बाबुबाट बलात्कृत छोरीहरु
कालको त्रासमा चपाइरहेछन्
अमुल्य समय ।
मेरा प्रत्येक पाइलाहरुले
खतराको संकेत चिने पनि
मान्दैनन् पछाडि सर्न
थाकेर मुलबाटोमा
आँखालाई अमन भएको छ
अखबारका पाना पढ्न
कानलाई सुन्न बोझ लाग्छ
रेडियो र टेलिभिजनका समाचार
तर म अमन भएको छ भनेर
खबरहिन संसार रोज्न सक्दिन
म बेखबर बनेपछि
खतराहरुको बाढीमा
पौडी खेल्दाखेल्दै
दुःखहरु सगाल्दा सगाल्दै
चिहानघारी पुगेकाहरुले
चिहानबाटै उठेर सोध्छन
खै मान्छे हुनुको अस्तित्व ?
त्रसित भएर बाँच्नु पर्ने
अस्तित्व खोज्दै हिडनुपर्ने
मानवले मानवकै भिडमा
बाँचेर पनि पटक पटक मरेकाहरुले
ब्युझिएर फेरि सोध्नेछन्
खै मान्छे हुनुको अस्तित्व ?
मानव अस्तित्व हराएको यो बेला
म को सँग सोधौ
मानव अस्तित्व
घरमै मरिसकेपछि
लास ओसार्ने सववाहनलाई
वा मानिसको विश्वास नभएर
कुकुर लिएर हिड्ने निराश अनुहारलाई ।
खै मान्छे हुनुको अस्तित्व ?
No comments:
Post a Comment