Thursday, January 21, 2010

गर्छ र को वास्ता

गर्छ र को वास्ता बस्ने बास नहुनेको
भन्छन् अझै सानो-ठूलो जात नहुनेको

कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ
मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको

पौडी खेल्छन् पसिनाको अझै दिनरात
आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको

नभएता भेदभाव छुवाछुतको यहाँ
अधिकारको दाम्लो आफ्नै साथ नहुनेको

सगै बसी सबैसँग ढिडो खान पाए
फर्किन्थ्यो कि केही खुसी आश नहुनेको

Monday, January 11, 2010

मेरा गाउँलेहरु

यहि छन जीवन
सँगै बेजोड बस्तीहरु
प्रकाशका निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।



यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पिल्सीरहका छन पेटहरु
पाली रहेछन गिठ्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन छातीहरु ।

भालेको डाकमा उठ्छन
मध्यरातमा भोकै सुत्छन
बाढीले बगाएको उर्वर भुमिलाई
छातीमा राखेर लमतन्न छन
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।



यही छन दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु अपाङ्गको बैशाखी
खोसेर सगरमाथा चढिरहेछन
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन देखाईरहेछन्

तर
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु सीमापारिका
रेडलाइट एरियामा छन
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तविजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन ।

र त अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु र म पनि ।