Sunday, September 25, 2011

उपहार

शास्वत नियम हो
शिशु भै जन्म लिएर
प्रवेश गर् यौ यस धर्तीमा
निरन्तर छ यो प्रगतिमा
के दिउँ उपहार म तिमीलाई

ज्ञानको ज्योति बाल्दै तिमीले

सृजनाका मूलहरु फुटायौ
अज्ञानताको निर्मुल पार्न
सुतेका मस्तिष्कहरु उठायौ
यो खुसीमा
के दिउँ उपहार म तिमीलाई

चाहन्छ खुसीले बाँच्न जीन्दगी सबैको

सिगारी उत्साह र उमङगले
कलिला सपनाहरु हुर्काएर
फुलाउन र फलाउन
निरन्तर निरन्तर जीवनभर
स्वतन्त्र आफ्ना पखेटाहरुले
भ्याएसम्म उडेर संसार बुझ्न चाहन्छ
आत्महत्याका सपनाहरु फुकाएर
सुस्केरा र बाध्यताहरु पन्छाउन सिकायौ
यही क्षणमा
के दिउँ उपहार म तिमीलाई

ती कुरुप सपनाहरु

अग्ला अनि डरलाग्दा महलहरु
ती क्षणिक खुसीहरु
अनि त्यो सुन्दर भनिने शहर
त्यागेर दृढ अठोट लिई
फर्कियौ कुरुप भनिने बस्तीमा
जन्म मृत्युको आरोह अवरोहमा
सदगति लिएर निरन्तर
तिमी उल्लास बिभोर हुँदा
यो हर्षको बेला
के दिउँ उपहार म तिमीलाई

यो पावन अवसरमा

जन्म अनि कर्मभूमिमा यसरी नै
बलिरहनु आँधिहुरीमा पिन
ज्योति फैलाएर टाढा क्षितिजसम्म
निरन्तर निरन्तर अन्तिम क्षणसम्म
शुभकामना र सर्मथन
मेरो उपहार छ तिमीलाई ।

Tuesday, August 30, 2011

सार्थक बनाउ तीज

भन्छन कोही तीज आयो, आयो
नाच्ने गाउने एउटै दिन आयो

नाचेर व्याथा टुङ्गिने भए
नाच्थ्यौ नि दिनका दिन
बाँच्दैछौ किन मरेर यहाँ
हरेक छिनका छिन

तीजले त दिन्छ एकदिनको खुशी
लिएर गइजान्छ
गर्छौ र गाली एकदिनमा कति
बिरानो भइजान्छ

जीवनको यात्रा सँगसगै गर्दा
सफल बन्दैछ
ए नारी जाति अब त उठ
साराले भन्दैछ ।

भुलेर हैन संस्कारलाई
मिलेर मनाउ तीज
आएको होइन नाच्नलाई मात्र
सार्थक बनाउ तीज

Sunday, August 14, 2011

तिम्रै आमा हुँ

दुःख गरी हुर्काएको छोरा तिमी नै हौ
कष्ट गरी हुर्काएकी छोरी तिमी नै हौ
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।

चपाएर ओकलेको गाँस खुवाउथे
आफू बाहिर भएपनि घर भित्रै सुताउथे
रातभरी जागै बसी कहिले काहि निदाउथे
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।

चाडबाड आउदाखेरि अहिले पनि रुन्छ मन
सम्झिदैनौ तिमी अहिले फर्किदैनौ झन
कहाँ गयौ छोडि मलाई कहिले आउछौ घर
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।

Saturday, July 9, 2011

तिमीलाई कुरिरहेछु

सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथेँ
एउटी निडर छोरी जन्माएछु भनेर

उहिल्यैदेखि

अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अँध्यारो रात डरलाग्दो थियो
घोडाको टापले थिचे जस्तै गरी
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।

उकालो ओह्रालो

आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ


समयको उछिनपाछिनलाई पच्छ्याउदै

बदलिरहने हावाका झोक्काहरुसँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ

तिमीलाई जन्माउने,
हुर्काउने
तिमीलाई निडर बनाउने पनि मै हुँ
म तिम्री आमा तिमीलाई कुरिरहेछु


Thursday, March 24, 2011

लात सहेर बस्दिन

युगौ-युग अँध्यारो रात सहेर बस्दिन
जानि- जानि हानेको लात सहेर बस्दिन

दुनियाले नबुझे नि मैले देखेकी छु
देखि-देखि गरेको घात सहेर बस्दिन

संघर्षमा यात्रा सफल हुन्छ एकदिन
गरिरहेको उल्टो बात सहेर बस्दिन

मान्छे भित्र मानवियता हेर न !
ओइलाएको पात झै सहेर बस्दिन

Thursday, February 24, 2011

आरोपहरु रोप तिमी

आरोपहरु रोप तिमी सहन म जति सक्छु
नसकेको दिन फेरि अघि बढ्न पनि सक्छु

विधुवाको
गाथा अझै गुम्सियर बसेको
यहि यात्रा पुरा गर्न बढन म अधि सक्छु

नारीहरुकै गीत लेख्छु मातृत्वको बदलामा

कल्पनामा मात्र हैन यथार्थमा पनि पुग्छु

म पनि आकाश ओढी धर्ती ओच्छ्याउँछु

संघर्ष मै जीवन खोज्दै सामु धर्ती झुक्छु