Sunday, November 11, 2012

क्यानभास जस्तै मेरो देश


एउटा बृहत प्रर्दशनी कक्षमा
झुण्ड्याइएको छ उस्तै गरी
एउटा विशाल क्यानभास

न पोतिएका छन त्यहाँ कुनै रङ्ग
न बनेका छन कुनै तस्विर
मात्र एउटा विशाल खाली
क्यान्भास झुन्ड्याइएको छ

राखेर खाली क्यानभास
त्यही तमासा हेर्न लामबद्ध छन्
मानिसका हुल
पोत्न नसकिएका रङ्गहरु
छरपष्ट छन वरिपरि
प्रर्दशनी कक्षमा प्रर्दशन भइरहेछ
एउटा विशाल क्यानभासको ।

कहिले पश्चिमे हावाको झोक्काले
पूर्वतिर पुर्याउन खोज्छ
कहिले दक्षिणको हावा आएर
उत्तरतिर पुर्याउन खोज्छ
क्यानभास केवल हल्लिइरहेछ

यसैलाई सुन्दर देख्नेहरु
एक पटक छोएर जान्छन्
यसको दुःख बुझेर जान्छन्
एउटा कसिलो सङ्कल्प बोकेर

व्याथा नबुझ्नेहरु
एक झल्को हेरेर
एक मुस्कान हाँसेर जान्छन्
क्यानभास त दोषी थिएन
असल कलाकारको अभावमा झुण्डिरहेछ
जसरी मेरो देश हल्लिरहेछ
सदाबहार हावाको स्पर्शसँगै ।

झिनो आशा बोकेर
अडिएको क्यान्भासमा
एकदिन पोतिनेछन्
वरिपरि छरिएका रङ्गहरु
समयको आधिसँगै
अनिमात्र मुस्कुराउनेछन्
खालि क्यानभासलाई सुन्दर देख्नेहरु ।