Tuesday, May 12, 2009

गीत

देश तिम्ले भुल्यौ कि त चट्टै माया मारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

टेम्के वनमा चाँप फुल्छ तिमी कहाँ फुल्छौ
गैरी खेतमा झुल्यो धान तिमी कहाँ झुल्छौ
भाज्याङ छोडी गयौ तिमी गावै एक्लो पारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

मेला पात पधेरीमा खाँचो हुन्छ तिम्रो
फर्की आउ स्वदेशमै गरौ काम हाम्रो
भेलबाढीले लग्यो बरै हाम्रो खेतबारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

Monday, May 11, 2009

गजल

कर्म छोडी भाग्य माथि विश्वास त गर्दिन म
अरु हिँड्ने बाटो माथि काडाँ नै त छर्दिन म

भन्नेहरु अभ्झै भन्छन् अबला हुन नारीहरु
तिनै सामु झुकाएर शिर नै त मर्दिन म

हेला गरुन घृणा गरुन अझै के के गर्छन
विपत्तीमा डराएर बसाइ नै त सर्दिन म

उकालोमा थाक्छन होला पाइलाहरु चाल्दै जाँदा
बिर्सिएर चुचुरोलाई ओरालो त झर्दिन म

तिम्रो बाटो तिमी हिँड मेरो मै हिँडुँला
मान्छे हुँ अमृत फाली विष नै त छर्दिन म

Saturday, May 2, 2009

भूगोलमा मात्र बाँच्दैन देश

भो मलाई कसैले देश देखाउनु पर्दैन
भूगोलको मानचित्र पल्टाएर
हो मैले देखिसकेकी छु
देश भूगोलमा मात्र बाँच्दैन भनेर ।

भुगोलमा देश हराएका
छातीमाथि देश राखेका मानिसहरुसँग
सोध देश कहाँ बाँच्छ
अथवा ती भुटानी शरणार्थीहरुलाई
सोध देश कहाँ बाँचेको हुन्छ
यस बेला म घाइते भएर
छटपटाउँदै देश खोज्न थालेकी छु
मानचित्रमा देखाइएको मात्र
मेरो देश होइन भन्न थालेकी छु ।

देश नभएका
सीमानाहरुले नछेक्ने
माथिमाथि आकाशमा उड्ने गिद्धहरुलाई
सोधे हुन्छ देश कहाँ हुन्छ
भूगोलको कुन कुनामा हुन्छ ।
मेरा प्यारा बन्धुहरु
मलाई थाहा छैन देश कहाँ हुन्छ
देश सहिदहरुको रगतमा हुन्छ ?
या सत्ताको सर्वोच्चतामा हुन्छ ?
मलाई यति मात्र थाहा छ
देश जनताको आखाँको नानीमा हुन्छ
त्यहीकै छहरा, छाँगाको पानीमा हुन्छ
जनताको पाखुरीको बल र जवानीमा हुन्छ ।

त्यसैले,
हामी पनि बुझौं देश भूगोलमा मात्र बाँच्दैन
मानचित्रमा मात्र खोजेर बस्नु हुँदैन
सहिदहरुले त छाँगाको पानीमा
रगत मिसाइसकेकका छन् ।