मेरो नमुना गाउँमा
भोकको नमुना छ
गरिबी र अभावको
शोषण र उत्पिडनको
आन्धविश्वासको सर्बोत्कृष्ट नमुना
बाहिरबाट हेर्दा बत्ती नभएकोले
अध्यारो देखिन्छ
सडक नपुगेकोले
टाढा भनिन्छ
बत्तिको अध्यारो भन्दा
धेरै छ यहाँ चेतनाको अध्यारो
न पानी छ, न स्वास्थ्य सेवा
जे नहुनु प¥थ्यो त्यही छ
अथाह गरिबी छ
भोकमरी छ
महामारी छ
धामी छन, झाक्री छन
थुप्रै देउथान छन्
मान्छेले जीवन त्यागछन
एक पुरिया जीवनजलको अभावमा
देउथान हलचल गर्दैनन् ।
एक निमेष जीवनमा आएको उज्यालो
आगाको झिल्को निभे झै हराइ जान्छ
मान्छे भन्दा धेरै पशुसँग संगत छ
जनावरले के गर्न खोज्दैछ अनुमान लाग्छ
मानिसको व्यवहारको अन्दाज गर्न सकिन्न
जन्मदेखि नै नारीको अपमान हुन थाल्छ
नीति नियम बनेका छैनन यहाँ
जसले जसलाई जे गरे हुन्छ
महोदय,
तपाईले यस्तो नमुना गाउँ देख्नुभएको छ ?
नमुना गाउँभित्रको
मेरो कथा पत्रकारका लागि
खबरको विषय बन्न सक्छ
कथाकारले कथा लेखिदिन सक्छ
कथासँगै बुनिएको मेरो कथा
सबैले पढनेछन्
म कथाकी पात्रको
चर्चा परिचर्चा हुन्छ
मेरो नमुना गाउँको
कथा पनि गासिने छ
खबर र कथा सँगै
लेखिदिनु,
मेरा इच्छा र चाहनाहरुले
पटक–पटक आत्महत्या गरेको
खबर लेखिदिनु ।
मेरा सपनाहरु, यथार्थहरु लेखिदिनु
आशुमा डुबेको जीवन
महासागरमा फसेको संसार लेखिदिनु
त्यो पढेर मुलुकले मानचित्रमा
मेरो गाउँ कुन कुनामा छ
एकपटक खोजिदेओस् ।
औसीको मध्यरात जस्तै
चिर निद्रामा सुतिरहेको
मेरो नमुना गाउँ
ब्युझियोस् यस पटक
कहिल्यै बेहोस नहोस
एक पुरिया जीवनजलको अभावमा
एउटा सिटामोलको अभावमा ।