Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Friday, January 24, 2014

आमाको मन


अति कोमल भयो मन
बर्सिदिन्छन आँशु
तिमी डुल्दै परदेशमा
म कसरी हाँसु

बच्चा सबै हुर्केपछि
उडिजान्छन टाढा
माउ बस्छन गुड रुगी
माया बन्छ गाढा

एउटा उड्यो गुँड छोडि
चिरबिर गर्दै
अर्को जान्छ छेवैबाट
टुलुटुलु हेर्दै

एक एक गर्दै जाँदा जादै
गुड भयो रित्तै
छितिज हेरी बसेकी छु
फर्कि आउनु छिट्टै

Tuesday, April 3, 2012

नसोध्नु कहिल्यै परदेशीलाई

नसोधे हुन्छ परदेशीलाईई
भनेर खुशी केकेमा हुन्छ
खुसीहरु सबै साटेपछि
मन बेसरी रुन्छ

नसोध्नु कहिल्यै परदेशीलाई
भनेर सुख कहाँ हुन्छ
परदेशमा हुँदा परिवारका लागि
पैसामा खुसी साटेको हुन्छ ।

नसोध उसलाई
परिश्रम के हो, विश्राम के हो
यी सबै कुरा स्वयमले
उतै भोगेको हुन्छ ।

नसोध्नु कहिल्यै परदेशीलाई
देशको माया कहाँ कति हुन्छ
सम्झेर देश हरेकदिन
एकपल्ट उ त मरेको हुन्छ ।

Tuesday, August 30, 2011

सार्थक बनाउ तीज

भन्छन कोही तीज आयो, आयो
नाच्ने गाउने एउटै दिन आयो

नाचेर व्याथा टुङ्गिने भए
नाच्थ्यौ नि दिनका दिन
बाँच्दैछौ किन मरेर यहाँ
हरेक छिनका छिन

तीजले त दिन्छ एकदिनको खुशी
लिएर गइजान्छ
गर्छौ र गाली एकदिनमा कति
बिरानो भइजान्छ

जीवनको यात्रा सँगसगै गर्दा
सफल बन्दैछ
ए नारी जाति अब त उठ
साराले भन्दैछ ।

भुलेर हैन संस्कारलाई
मिलेर मनाउ तीज
आएको होइन नाच्नलाई मात्र
सार्थक बनाउ तीज

Sunday, August 14, 2011

तिम्रै आमा हुँ

दुःख गरी हुर्काएको छोरा तिमी नै हौ
कष्ट गरी हुर्काएकी छोरी तिमी नै हौ
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।

चपाएर ओकलेको गाँस खुवाउथे
आफू बाहिर भएपनि घर भित्रै सुताउथे
रातभरी जागै बसी कहिले काहि निदाउथे
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।

चाडबाड आउदाखेरि अहिले पनि रुन्छ मन
सम्झिदैनौ तिमी अहिले फर्किदैनौ झन
कहाँ गयौ छोडि मलाई कहिले आउछौ घर
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।

Tuesday, November 23, 2010

सन्तान बराबरी

स्वाभिमानी बन्न सिकौँ नेपालका छोरीछोरी
बजाउदै धिनताङ धिनताङ गुन्जाउदै मालसिरी

जन्म लियाँ यो धर्तीमा नाम दियो माटोले
मन हाम्रो दुख्ने गर्छ ननिका ती खाटोले
खियाउनु छ दश नङग्रा भइ छोरछोरी
गर्ने छैनन् भेदभाव हामी बराबरी

तराइका फाँटहरुमा गर्नु पर्छ काम
पहाडको टुप्पोबाट तब आउँछ घाम
हिमालहरु नेपालका गहना तिलहरी
हिमाल तराइ पहाडका सन्तान बराबरी

Friday, September 10, 2010

रङ्ग भर्नु छ

भन्छन हजुर सबैले तीज आयो तीज आयो
हाँसी खेली नाच्ने गाउने एउटै दिन आयो

हामी चेली रुन्छौ र बाह्रै मास विव्हल भई
नबस्नु है दिदी बहिनी घरमै बन्दी भई

घरको घन्दा सँगै हामी गर्न सक्छौ धेरै
समाजका कुरितीलाई हामी आफै फेरौ

हुन सक्छ अझ बढी अत्याचार यहाँ
चुप लागि बस्यौ भने जे पनि हुन्छ यहाँ

कहिले धेरै रुन्छ मन कहिले हाँस्छ मन
त्यसैलाई सम्हालेर राख्ने हाम्रै काम

कहिले बेँसी झरीझरी रुन्छन गाँउले चेली
कहिले काही उकालीमा रुन्छन बसी बसी

नरुनु है अरु सामु आँशु झारी झारी
कहिल्यै पनि नसोच्नु है आफू कमजोर भनी

सीप सिकौ ज्ञान लिउ भरौ साहस
नबनौ है कसैको नि नोकर अनि दास

कोहि हुन्नन संसारमा दोस्रो नागरिक
केही गर्न हुनुपर्छ आफै जाकरुक

गलत संस्कार संस्कृतिलाई परास्त गर्नु छ
नयाँ समाज निमार्ण गरी रङ्ग भर्नु छ ।

जिम्मेदारी हाम्रो नी छ ए नारी जाति हो
आजै उठौ आजै लागौ ए मेरा साथी हो ।

Friday, August 13, 2010

सङ्घर्षमा सानो-ठूलो

झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी
सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी

डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो
जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो
दोधारमा नबसौँ है चाँडै बढौँ हामी
झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी

सयौँ दिन रात गरी वर्षौ बित्दै जान्छन्
कैले औँसी कैले पूर्णिमाको रातहरु बन्छन्
राखनु पर्छ सुमार्गमा हिँडी राखने बानी
झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी

Sunday, April 11, 2010

मर्न के को डर

बाँचिन्जेल गर्नु धेरै, मरे के छ र
मर्नु नै छ एकदिन, मर्न के को डर

बढाइ राखनु यात्रा सधै गन्तव्यमा पुग्न
पर्दैन है अरु सामु शिर निहुराइ झुक्न
अधिपछि नभुल्नु है हेर्न वरपर
मर्नु नै छ एकदिन मर्न के को डर

एकैछिन नराखनु है खाली हातहरु
धेरै आउछन दिनलाई सधै-सधै साथहरु
यसरी नै बन्छ हाम्रो, राम्रो नयाँ घर
मर्नु नै छ एकदिन मर्न के को डर

Wednesday, December 2, 2009

सम्झना साथै सलाम छ

सम्झना साथै सलाम छ क्रान्तिकारी युवा हो
समयको मार्ग चिनेर त्यहीँ बाटोमा हिड्ने हो

ज्ञानको ढोका खोलिनु शुभ समयको संकेत हो
आफै नै ज्योति बनेर अन्धकारलाई चिर्ने हो
सभ्य समाजको निमार्णमा चुनौति दिई बढेका
विभेदको पर्खाल तोडेर एकताको बिगुल फुक्ने हो

जेलनेल सहदै भोकतिर्खा खपेर
जीवनको अर्थ बुझ्नलाई सदभावको बीज रोपेर
रगतको मसी नसुकाई इतिहासका पानामा
विकृतिको खिया मेटेर नयाँ रङ्ग भर्ने हो ।

Saturday, October 17, 2009

झुपडीका रहरहरु

जताततै होचो अग्लो कतै पाखा पहराहरु
सिर्जनशील दिमाग हो सम्याउन गहराहरु

शहिदहरुले रगत दिए श्रमिकहरुले श्रम
बाचुन्जेल गर्नु नै छ आ-आफैले कर्म
कालो, रातो, सेतो, निलो छरपष्ट छन
कलाकर्मीहरु हो टिपी ल्याउन रङ्गहरु

धेरै उम्रे बिरुवाहरु कति मरिसके
गोडमेल नगरेरै फूल त्यसै झरिसके
के ले देला गाँस हाम्लाई केले देला बासना
नेपाली हो झुपडीका फूलाउ रहरहरु

Tuesday, May 12, 2009

गीत

देश तिम्ले भुल्यौ कि त चट्टै माया मारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

टेम्के वनमा चाँप फुल्छ तिमी कहाँ फुल्छौ
गैरी खेतमा झुल्यो धान तिमी कहाँ झुल्छौ
भाज्याङ छोडी गयौ तिमी गावै एक्लो पारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

मेला पात पधेरीमा खाँचो हुन्छ तिम्रो
फर्की आउ स्वदेशमै गरौ काम हाम्रो
भेलबाढीले लग्यो बरै हाम्रो खेतबारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी