पहिले मलाई खुकुरीको धार बनाइयो
हिजो सम्म उध्याउने गरिन्थ्यो
आज कजिएकी छु
यहाँ भन्दा बढी उध्याउन पर्दैन
साँध लगाउन पर्दैन मलाई
कहिले मलाई हँसिया बनाइयो
र धान काट्न घाँस काट्न प्रयोग गरिन्थ्यो
कहिले खुकुरी बनाएर
साँध लगाइन्थ्यो र फत्ते गरिन्थ्यो
गर्न हुने र नहुनेकामहरु
कहिले खुकुरी कहिले हँसिया बन्नुको पिडाले
आज म बल्झिएकी छु
कि त मलाई खुकुरीको धार बन्न दिइयोस
कि त हँसियाको दाँत बन्न दिइयोस
र मेरै काममा लगाइयोस
हो डराउनु पर्दैन म जे भएपनि
मेरा धार या दाँत जे भएपनि
मैले देखेकै छु
मलाई बल्झाउनेहरु
यहीँ कतै लुकेर झुकेका छन्
हिजो मलाइ गोरुजस्तै बनाएर खेतमा
नजोताइएको भए
अगुवा बनाएर खुट्टा
नतानिदिएको भए
मेसिनका पुर्जा बनाएर
परिचालन नगरिएको भए
आज पनि मलाइ मेरै काममा
लगाइएको भए
म यसरी उठने थिइन आमा !
मंसिरको चाडवाड सम्झेर
असारको हिलो छिचोल्दै
जोतेका खेतबारीमा
बेलैमा कमाइ लगाउन पाएको भए
हावा हुरीको प्रवाह नगरी भदौमै बाली
मौलाउन पाएको भए
त्यहीँ कमाइमा रम्थे होला ।
त्यसमै मेरो चित्त बुझ्थ्यो होला ।
म यसरी उठने थिइन आमा !
अहिले म यसरी उठने थिइन ।
No comments:
Post a Comment