Saturday, July 9, 2011

तिमीलाई कुरिरहेछु

सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथेँ
एउटी निडर छोरी जन्माएछु भनेर

उहिल्यैदेखि

अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अँध्यारो रात डरलाग्दो थियो
घोडाको टापले थिचे जस्तै गरी
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।

उकालो ओह्रालो

आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ


समयको उछिनपाछिनलाई पच्छ्याउदै

बदलिरहने हावाका झोक्काहरुसँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ

तिमीलाई जन्माउने,
हुर्काउने म
तिमीलाई निडर बनाउने पनि मै हुँ
म तिम्री आमा तिमीलाई कुरिरहेछु ।


Thursday, March 24, 2011

लात सहेर बस्दिन

युगौ-युग अँध्यारो रात सहेर बस्दिन
जानि- जानि हानेको लात सहेर बस्दिन

दुनियाले नबुझे नि मैले देखेकी छु
देखि-देखि गरेको घात सहेर बस्दिन

संघर्षमा यात्रा सफल हुन्छ एकदिन
गरिरहेको उल्टो बात सहेर बस्दिन

मान्छे भित्र मानवियता हेर न !
ओइलाएको पात झै सहेर बस्दिन

Thursday, February 24, 2011

आरोपहरु रोप तिमी

आरोपहरु रोप तिमी सहन म जति सक्छु
नसकेको दिन फेरि अघि बढ्न पनि सक्छु

विधुवाको
गाथा अझै गुम्सियर बसेको छ
यहि यात्रा पुरा गर्न बढन म अधि सक्छु

नारीहरुकै गीत लेख्छु मातृत्वको बदलामा

कल्पनामा मात्र हैन यथार्थमा पनि पुग्छु

म पनि आकाश ओढी धर्ती ओच्छ्याउँछु

संघर्ष मै जीवन खोज्दै सामु धर्ती झुक्छु

Tuesday, November 23, 2010

सन्तान बराबरी

स्वाभिमानी बन्न सिकौँ नेपालका छोरीछोरी
बजाउदै धिनताङ धिनताङ गुन्जाउदै मालसिरी

जन्म लियाँ यो धर्तीमा नाम दियो माटोले
मन हाम्रो दुख्ने गर्छ ननिका ती खाटोले
खियाउनु छ दश नङग्रा भइ छोरछोरी
गर्ने छैनन् भेदभाव हामी बराबरी

तराइका फाँटहरुमा गर्नु पर्छ काम
पहाडको टुप्पोबाट तब आउँछ घाम
हिमालहरु नेपालका गहना तिलहरी
हिमाल तराइ पहाडका सन्तान बराबरी

Thursday, November 18, 2010

ऊ कतिन्जेल सहिरहन्छ

पट्यार लाग्दो घामले सुकेका
ती क्याक्टसका बोटहरुले
दिनानुदिन सियोको टुप्पोले झंै
मुटु छियाछिया हुने गरी घोचिरहन्छ
ती एक जोर पैतालाहरुमा

विनाशकारी हावाहुरीले
सुकाएका विरुवाबाट झरेका पातहरुमा
मचक्क टेक्दा सोला दिएको
भान हुन्छ तिनै एक जोर पैतालाहरुमा

घरमा पुग्दा फिजै फिजले
भरिएका ओडारजस्ता मुख
बाइरहेका हुन्छन पशुहरु
तिखा बाङ्गिएका दातहरु देखाएर
ती पशुहरुले साह्रै दुःख दिइरहेका छन्
प्रत्येक गरिबका एक जोर हत्केलाहरुलाई

पछ्याउँछ समयलाई कमजोर ठानेर
र त निरन्तर बर्जाछन् झापट ती
उड्न खोज्ने पखेटाहरुमा
र ओस्याउँछन् चिसो छिडीमा रातभरि
कहिले उठ्नै नसक्ने गरी
ती एक जोर पैतालाहरुलाई

गाउँठाउँ र वरिपिर
देशदेखि विदेशसम्म
सडक र सहरभरि
खैलाबैला हुन्छ उसैको
वायुमण्डलको चिसो हावाले पेट भर्छ
र मर्छ रातभरि
थापेर ती दुई हत्केलाहरु

बिहान हुन नपाउदै
नाङ्गिन्छन् अङ्गहरु
च्यातिन्छन् वस्त्रहरु
प्राकृतिका अनमोल झाडीहरुमा
नाङ्गा ती एक जोर पैतालाहरुसँगै
यसै गरि नाङ्गिरहेछन वर्षौँदेखि निरन्तर
तर ऊ यी सबै-सबै किन सहिरहन्छ
आफ अपराधी झैँ चुपचाप
एककोहोरो भएर ऊ कतिन्जेल सहिरहन्छ

Tuesday, September 21, 2010

पृथक मनहरु

पृथक मनहरु
माजु मार्मिका
मन भित्रको संवेदनामा
आगो बलिरहेको छ
हरेक पलपलमा
आगोका ज्वालाहरु पिइरहन्छन
प्रत्येक क्षणक्षणमा

हरितालिका
साच्चै तीज भएर आउनु छ भने
शान्तिको राको बालेर आउ
पिडाको आघातले फुटन
बाँकी मुटुहरुलाई जोगाउन
भोका पेटहरुको
भोक भेटाउन
न कि दामसिएका पेटहरुलाई
झनै बसाउन

चुहाउदैछन मोतिका दाना
दिनरात बर्षिन्छन आफसेआफ
चट्टानको चुहावटसरी भिरहरुमा
कसरी टिप्न सक्छन र
श्रमका दाना टिप्नेहरुको भिडबाट
अह टिप्न सकेनन अझैपनि
तर लिन्छन पोल्टाभरि सान्त्वनाका पोकाहरु
अनि बोकेर रुन्छन थुनेर कोठाहरु ।

दिनेहरुले दिए भन्दैमा नलेउ भो
हाम्रै मन कठोर बन्नु पर्छ
मुत्यु पर्यान्त पनि छुरा घस्नेहरु
मृत लासमाथि रजाई गर्न मनाही छ
बौलाहा कुकुरले साप्रो च्यापे झै
नच्याप यी मनहरुलाई
पागल पनको पहिचान बोकेर
जिस्काउन मनाही छ
पृथक मनहरुलाई उदाङगो पार्न सक्दैनौ ।

हावा सुस्त छ सुर्य चुस्त छ
यिनैलाई साक्षी राखेर
युद्ध भन्दा डरलाग्दो जीन्दगीको
कहानी भोगेकी छौ तिमीले पिन
फलाम सँग रातदिन युद्ध लडेकी छौ ।
आखिर जीत त तिम्रै भएको छ नि ।
तर अझै जिस्काइरहन्छन ती आडम्बर
तिमीले खसालेका मोतिका दाना खोस्नेहरु ।

निस्फिकि्र सन्त्रासको पिरो
धुवामय आकाशमा उड्नु छ
प्रवाह नगरि धुवाको
झरर्नु छ अझै तल
बरु परु आगोमा
नराखी
आशा कसैको शुभकामनाको
नमाग्नु भिक्षा कोहीसँग
बरु पौडिरहनु संघर्षका डुंगा चलाएर
नरुनु भौकै मन जलाएर
बलिरहेको आगोमा बरु पेट्रोल थप्न आउ
जीवनलाई जीवन्तता दिनु छ भने
अनि हराउ
तिमीले फलाएका मोति टिप्नेहरुलाई
मृत्यु पर्यान्त पनि शरिर चुस्नेहरुलाई ।

Friday, September 10, 2010

रङ्ग भर्नु छ

भन्छन हजुर सबैले तीज आयो तीज आयो
हाँसी खेली नाच्ने गाउने एउटै दिन आयो

हामी चेली रुन्छौ र बाह्रै मास विव्हल भई
नबस्नु है दिदी बहिनी घरमै बन्दी भई

घरको घन्दा सँगै हामी गर्न सक्छौ धेरै
समाजका कुरितीलाई हामी आफै फेरौ

हुन सक्छ अझ बढी अत्याचार यहाँ
चुप लागि बस्यौ भने जे पनि हुन्छ यहाँ

कहिले धेरै रुन्छ मन कहिले हाँस्छ मन
त्यसैलाई सम्हालेर राख्ने हाम्रै काम

कहिले बेँसी झरीझरी रुन्छन गाँउले चेली
कहिले काही उकालीमा रुन्छन बसी बसी

नरुनु है अरु सामु आँशु झारी झारी
कहिल्यै पनि नसोच्नु है आफू कमजोर भनी

सीप सिकौ ज्ञान लिउ भरौ साहस
नबनौ है कसैको नि नोकर अनि दास

कोहि हुन्नन संसारमा दोस्रो नागरिक
केही गर्न हुनुपर्छ आफै जाकरुक

गलत संस्कार संस्कृतिलाई परास्त गर्नु छ
नयाँ समाज निमार्ण गरी रङ्ग भर्नु छ ।

जिम्मेदारी हाम्रो नी छ ए नारी जाति हो
आजै उठौ आजै लागौ ए मेरा साथी हो ।