Saturday, October 17, 2009

झुपडीका रहरहरु

जताततै होचो अग्लो कतै पाखा पहराहरु
सिर्जनशील दिमाग हो सम्याउन गहराहरु

शहिदहरुले रगत दिए श्रमिकहरुले श्रम
बाचुन्जेल गर्नु नै छ आ-आफैले कर्म
कालो, रातो, सेतो, निलो छरपष्ट छन
कलाकर्मीहरु हो टिपी ल्याउन रङ्गहरु

धेरै उम्रे बिरुवाहरु कति मरिसके
गोडमेल नगरेरै फूल त्यसै झरिसके
के ले देला गाँस हाम्लाई केले देला बासना
नेपाली हो झुपडीका फूलाउ रहरहरु

भोलि खोज्दै उठे

भुत थियो दुःखदायी
वर्तमान झनै
युगले हातहरु फैलाएको बेला
शुन्य ति हातहरुमा
पुर्याउन केही कुरा
सानो एउटा झोली खोज्दै उठे
विशाल यो धर्तिमाथि
च्यतिएको पहिरन र भित्ता सँग साथ माग्दै
कति पाइला चालिए होलान
भारी बोक्ने दाइको ज्यान कुन नदीमा मिल्यो होला
त्यही पिडामा भाउजुको मुटु कति दुख्यो होला
पिठ्युमा छोरा बोकी बालुवा चाल्दै गर्दा
हराएकी ती दिदीको चोली खोज्दै उठे ।

अझै देख्छु यत्रतत्र
सन्तान मर्दा धन्य भनी
आफ्नो मन थाम्नेहरु
भोकै बसी नाङ्गै बसी
आउने दिन गन्नेहरु
सन्तानको कात्रोभित्र चिहाइ हेर्दा
विजयको मुहार पनि देख्हरु
बाचीरहोस देश भन्दै
जीवन बली दिनेहरु
तिनकै निम्ति बोलि खोज्दै उठे ।

गर्भमै हुदा ऋणको भारी बोकेर
चुक्ता गर्न हली बन्ने काले दाइले
परम्परा जोगाउन
भारि बोक्ने भरिया भाइले
अरुका निम्ति पसिना कतिन्जेल चुहाउनु
कोही मान्छे कन्दमुल नपाएर त्यागीराछन जीवन
कोही मान्छे आरामले सजाइराछन जीवन
फटाहा र शोषकको अन्त्य आजै गर्न
विचारको गोलि खोज्दै उठे ।

पानी सधै दख्खिन बगी उतै जानु पर्ने त हो
फर्किएर यतै आयो
जाने ठाउँमा जाल बुन्यो कस्ले
साध मिच्न सिपालु छन भन्ने थाहा पाए
सिमानाको निकै वर ढोका थुन्छ कस्ले
त्यै ढोकालाई फुटाएर
गन्तव्यमा पुग्नलाई टोली खोज्दै उठे ।

गोरुलाई गाई बनाई दुध माग्नेहरु
आफ्नै प्वाँखको साहरामा उडने चराहरुलाई
पिजडामा राखी-राखी कष्ट दिनेहरु
अटन सक्छन यहाँ ठुल्ठूला महल र पुजिपतिहरु
सक्दैनन रे अटाउन सर्वहारा र झुपडिहरु
हिजो यस्तै अन्याय भो
आज अत्याचार
बनाउनलाई बराबर
सुन्दर त्यो भोलि खोज्दै उठे ।

दिदिको त्यो चोली खोज्दै उठे ।
विचारको गोली खोज्दै उठे ।

Saturday, June 27, 2009

बाटो आफैं बनाउदै

अग्ला अग्ला
अनि कठोर हिमालको छाती चिरा चिरा पार्दै
पहाडको खोंचबाट दर्शनढुङ्गा पगाल्दै
नदीहरु गाँउबंसीका गीत गाउँदै
व्यथाहरु कहँदै
सागर चुम्न र छुन दौडिरहेछन् ।
सुनकोसी तामाकोसी र दूधकोसी झैं संघर्षशील भएर
मस्र्याङ्दी र सप्तकोसी झैं क्रान्तिकारी भएर
अविछिन्न वा अविरल नदीहरु मूल फुटेर
गन्तव्यतर्फ बगिरहन्छन् ।

एउटै उदेश्य लिएर तँछाड मछाड गर्दै
बगिरहेका नदीमाथि अन्याय गर्दै
भो पाप नपखालर कुनै कष्ट पनि नदेऊ
नदी त विचारको प्रवाह हो
जसलाई बिना रोकतोक बग्न दिनुपर्छ

छाडिदेऊ
बग्न देऊ !
नदीको गीत प्रगतिप्रति
रिस घृणको आगो लगाउदैमा
नदी कसरी खरानी हुन्छ र
जति सुकै कडा चट्टानले
बाध बाध्न खोजे पनि
पानीलाई कतिन्जेल थुन्न सकिन्छ र
अनि त
नदीले आफ्नो बाटो आफैं बनाउदै
गन्तव्यमा पुगेरै छाड्छ ।

पहाड भोकाएको छ

पहाड भोकाएको छ
तराई नांगिएको बेला
पहाड भोकाएको छ
धारहरु साँधिएको बेला
हिमाल फाँदिएको छ

उठेर बिहान
खन्दैन चिहान
पहाड भोकाएको छ
मध्यान्हको घामसँगै
पूर्णिमाको साँझसँगै
हिमाल फाँदिएको छ

सुतेर राती
च्यात्दैन धर्ती
तराई नांगिएको बेला
पहाड भोकाएको छ
धारहरु साँधिएको बेला
हिमाल फाँदिएको छ ॥

Tuesday, June 23, 2009

तराईतिर गर्मि भए

तराईतिर गर्मि भए पहाडमा आउ साथी कत्ति
साह्रो तिर्खाएछो चिसो पानी खाउ साथी

भेलबाढी उल्र्या बेला खहरे त्यो सुसाउछ
दुःख सम्झी फल हाल्न नजाउ साथी

प्रकुतिका उपाहार लिलामीमा बेच्न हुन्न
अनमोल भुमि हाम्रो नतोक ह्र भाउ साथी

सीमानामा ढोकाहरु खुल्ला छाड्नु हुन्न अब
हेर्न सक्छन् साँढेसाँढी भित्र छिर्ने दाउ साथी

बाली त्यसै खेर जान्छ हतारोमा बिउ छर्दा
मौसमकै बीउ किनी आजै बाझो फुटाउ साथी

म को हुँ ?

सानो छु
तर बिशाल

पसिना र रगतको थोपा थोपा मिली बनेको छु
रंङ्गीबिरङ्गी फूलहरुले सजिएर
शिखरको फेदमा बसेको छु
उपहार कति पाए कति निर्माण गरे आफैं
साथी संगी धेरै बनाई अरु सामु चिनिएछु

जन्माए सन्तान थरीथरीका
तै भएर माया छ सबैलाई मुटु भरीको
शक्ति मेरो सकिएको छैन अहिले नै
बनेका छन् हातगोडा कहिले नखिइने
उड्न सक्छु अझै पनि मुटु छ है स्थीर
भविष्यमा बन्छु म त धेरैधेरै धीर

त्यसैले त भन्ने गर्छु
जुट उठ सन्तान हो
गौरव गर्दै उठ एकभई उठ
म को हुँ ? चिनेनौ कि कसो
नजाउ उता फर्क यतै थापेका छन पासो

सानो छु
तर विशाल छु

Tuesday, May 12, 2009

गीत

देश तिम्ले भुल्यौ कि त चट्टै माया मारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

टेम्के वनमा चाँप फुल्छ तिमी कहाँ फुल्छौ
गैरी खेतमा झुल्यो धान तिमी कहाँ झुल्छौ
भाज्याङ छोडी गयौ तिमी गावै एक्लो पारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी

मेला पात पधेरीमा खाँचो हुन्छ तिम्रो
फर्की आउ स्वदेशमै गरौ काम हाम्रो
भेलबाढीले लग्यो बरै हाम्रो खेतबारी
बिसाउकी बोकुँ मैले सम्झनाको भारी