सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथेँ
एउटी निडर छोरी जन्माएछु भनेर
उहिल्यैदेखि
अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अँध्यारो रात डरलाग्दो थियो
घोडाको टापले थिचे जस्तै गरी
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।
उकालो ओह्रालो
आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ
समयको उछिनपाछिनलाई पच्छ्याउदै
बदलिरहने हावाका झोक्काहरुसँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ
तिमीलाई जन्माउने, हुर्काउने म
तिमीलाई निडर बनाउने पनि मै हुँ
म तिम्री आमा तिमीलाई कुरिरहेछु ।