Friday, January 24, 2014

आमाको मन


अति कोमल भयो मन
बर्सिदिन्छन आँशु
तिमी डुल्दै परदेशमा
म कसरी हाँसु

बच्चा सबै हुर्केपछि
उडिजान्छन टाढा
माउ बस्छन गुड रुगी
माया बन्छ गाढा

एउटा उड्यो गुँड छोडि
चिरबिर गर्दै
अर्को जान्छ छेवैबाट
टुलुटुलु हेर्दै

एक एक गर्दै जाँदा जादै
गुड भयो रित्तै
छितिज हेरी बसेकी छु
फर्कि आउनु छिट्टै

Thursday, October 24, 2013

ब्युझियोस् नमुना गाउँ


मेरो नमुना गाउँमा
भोकको नमुना छ
गरिबी र अभावको
शोषण र उत्पिडनको
आन्धविश्वासको  सर्बोत्कृष्ट नमुना

बाहिरबाट हेर्दा बत्ती नभएकोले
अध्यारो देखिन्छ
सडक नपुगेकोले
टाढा भनिन्छ
बत्तिको अध्यारो भन्दा
धेरै छ यहाँ चेतनाको अध्यारो
न पानी छ, न स्वास्थ्य सेवा
जे नहुनु प¥थ्यो त्यही छ

अथाह गरिबी छ
भोकमरी छ
महामारी छ
धामी छन, झाक्री छन
थुप्रै देउथान छन्
मान्छेले जीवन त्यागछन
एक पुरिया जीवनजलको अभावमा
देउथान हलचल गर्दैनन् ।

एक निमेष जीवनमा आएको उज्यालो
आगाको झिल्को निभे झै हराइ जान्छ
मान्छे भन्दा धेरै पशुसँग संगत छ
जनावरले के गर्न खोज्दैछ अनुमान लाग्छ
मानिसको व्यवहारको अन्दाज गर्न सकिन्न
जन्मदेखि नै नारीको अपमान हुन थाल्छ
नीति नियम बनेका छैनन यहाँ
जसले जसलाई जे गरे हुन्छ
महोदय,
तपाईले यस्तो नमुना गाउँ देख्नुभएको छ ?

नमुना गाउँभित्रको
मेरो कथा पत्रकारका लागि
खबरको विषय बन्न सक्छ
कथाकारले कथा लेखिदिन सक्छ
कथासँगै बुनिएको मेरो कथा
सबैले पढनेछन्
म कथाकी पात्रको
चर्चा परिचर्चा हुन्छ
मेरो नमुना गाउँको
कथा पनि गासिने छ
खबर र कथा सँगै

लेखिदिनु,
मेरा इच्छा र चाहनाहरुले
पटक–पटक आत्महत्या गरेको
खबर लेखिदिनु ।
मेरा सपनाहरु, यथार्थहरु लेखिदिनु
आशुमा डुबेको जीवन
महासागरमा फसेको संसार लेखिदिनु
त्यो पढेर मुलुकले मानचित्रमा
मेरो गाउँ कुन कुनामा छ
एकपटक खोजिदेओस् ।

औसीको मध्यरात जस्तै
चिर निद्रामा सुतिरहेको
मेरो नमुना गाउँ
ब्युझियोस् यस पटक
कहिल्यै बेहोस नहोस
एक पुरिया जीवनजलको अभावमा
एउटा सिटामोलको अभावमा । 

Wednesday, October 23, 2013

मानव अस्तित्व

बिहानदेखि साँझसम्म 
कहिले काही आधा रातसम्म
म हिड्छु कतै
कतै दौडन्छु

हिडेर कहिल्यै नथाक्ने पाइलाहरु
हेरेर कहिल्यै नदुख्ने आँखाहरु
आजभोलि थकित देखिन्छन रे
जसले हेर्नु परिरहेछ
डकारिरहेका र भोका मान्छेहरु
बाबुबाट बलात्कृत छोरीहरु
कालको त्रासमा चपाइरहेछन्
अमुल्य समय ।

मेरा प्रत्येक पाइलाहरुले
खतराको संकेत चिने पनि
मान्दैनन् पछाडि सर्न
थाकेर मुलबाटोमा

आँखालाई अमन भएको छ
अखबारका पाना पढ्न
कानलाई सुन्न बोझ लाग्छ
रेडियो र टेलिभिजनका समाचार
तर म अमन भएको छ भनेर
खबरहिन संसार रोज्न सक्दिन

म बेखबर बनेपछि
खतराहरुको बाढीमा
पौडी खेल्दाखेल्दै
दुःखहरु सगाल्दा सगाल्दै
चिहानघारी  पुगेकाहरुले
चिहानबाटै उठेर सोध्छन
खै मान्छे हुनुको अस्तित्व ?

त्रसित भएर बाँच्नु पर्ने
अस्तित्व खोज्दै हिडनुपर्ने
मानवले मानवकै भिडमा
बाँचेर पनि पटक पटक मरेकाहरुले
ब्युझिएर फेरि सोध्नेछन्
खै मान्छे हुनुको अस्तित्व ?


मानव अस्तित्व हराएको यो बेला
म को सँग सोधौ
मानव अस्तित्व
घरमै मरिसकेपछि
लास ओसार्ने सववाहनलाई
वा मानिसको विश्वास नभएर
कुकुर लिएर हिड्ने निराश अनुहारलाई ।
खै मान्छे हुनुको अस्तित्व ?

Sunday, November 11, 2012

क्यानभास जस्तै मेरो देश


एउटा बृहत प्रर्दशनी कक्षमा
झुण्ड्याइएको छ उस्तै गरी
एउटा विशाल क्यानभास

न पोतिएका छन त्यहाँ कुनै रङ्ग
न बनेका छन कुनै तस्विर
मात्र एउटा विशाल खाली
क्यान्भास झुन्ड्याइएको छ

राखेर खाली क्यानभास
त्यही तमासा हेर्न लामबद्ध छन्
मानिसका हुल
पोत्न नसकिएका रङ्गहरु
छरपष्ट छन वरिपरि
प्रर्दशनी कक्षमा प्रर्दशन भइरहेछ
एउटा विशाल क्यानभासको ।

कहिले पश्चिमे हावाको झोक्काले
पूर्वतिर पुर्याउन खोज्छ
कहिले दक्षिणको हावा आएर
उत्तरतिर पुर्याउन खोज्छ
क्यानभास केवल हल्लिइरहेछ

यसैलाई सुन्दर देख्नेहरु
एक पटक छोएर जान्छन्
यसको दुःख बुझेर जान्छन्
एउटा कसिलो सङ्कल्प बोकेर

व्याथा नबुझ्नेहरु
एक झल्को हेरेर
एक मुस्कान हाँसेर जान्छन्
क्यानभास त दोषी थिएन
असल कलाकारको अभावमा झुण्डिरहेछ
जसरी मेरो देश हल्लिरहेछ
सदाबहार हावाको स्पर्शसँगै ।

झिनो आशा बोकेर
अडिएको क्यान्भासमा
एकदिन पोतिनेछन्
वरिपरि छरिएका रङ्गहरु
समयको आधिसँगै
अनिमात्र मुस्कुराउनेछन्
खालि क्यानभासलाई सुन्दर देख्नेहरु ।

Tuesday, April 3, 2012

नसोध्नु कहिल्यै परदेशीलाई

नसोधे हुन्छ परदेशीलाईई
भनेर खुशी केकेमा हुन्छ
खुसीहरु सबै साटेपछि
मन बेसरी रुन्छ

नसोध्नु कहिल्यै परदेशीलाई
भनेर सुख कहाँ हुन्छ
परदेशमा हुँदा परिवारका लागि
पैसामा खुसी साटेको हुन्छ ।

नसोध उसलाई
परिश्रम के हो, विश्राम के हो
यी सबै कुरा स्वयमले
उतै भोगेको हुन्छ ।

नसोध्नु कहिल्यै परदेशीलाई
देशको माया कहाँ कति हुन्छ
सम्झेर देश हरेकदिन
एकपल्ट उ त मरेको हुन्छ ।

Wednesday, February 8, 2012

बनाउनु छ एउटा नयाँ बाकस

एउटा दह्रो र ठूलो बाकस
बनाउनु पर्ने भएको छ
प्रत्येक भागहरुलाई मिलाएर राख्न
आफ्नै हातको सिप खन्याएर बलियो
सबैका दुःखहरुलाई बन्द गरिदिन
एउटा बाकस बनाउनु पर्ने भएको छ

कसैका असफलता
कसैका दोधारे विचारहरुलाई
जन्मने बित्तिकै कैदी बनाउन
एक घुटको रक्सीको बहानामा
सन्तानको व्यापार गर्नेहरुलाई
एउटा कोठामा थुनिदिन

युगौ देखिको पुरानो बाकस भत्काएर
धुलो सबै बढारेर
त्यहाँ भित्रका फलहरु कुहिएर
छोइ नसक्नु भएका छन्
ती सबैलाई आजै फालेर सफा गर्नु छ
घाइते मनहरुलाई निको पार्दै
जहाँ अनगिन्ती कुराहरु मिलाएर राख्नु छ ।
र त एउटा बाकस बनाउनु छ ।

रङगिविरङगी रंगहरु भरेर
हामै्र कलाका बुट्टाहरु भरेर
शत्रुहरुले तोडन नसक्ने
चोरहरुले फोर्न नसक्ने
बारम्बार नयाँ बनाउन नपर्ने गरि
नयाँ बाकस बनाउनु छ ।

समानहरु वस्तुहरु
आचार र विचारहरु
सबैसबैलाई व्यबस्थित गरेर
आनन्द दिने थरिथरिका रंगहरुसँगै
थुपैथुप्रै कुराहररु राख्नु छ
माकुराले जालो लगाउन नपाउने गरि
धमिराले धुलो नपार्ने गरि
हातमा हातसाथमा साथ मिलाइ पुरानो फाली
नयाँ बाकस बनाउनै पर्ने भएको छ ।
आऊ मित्र जसरी पनि
बनाउनु छ एउटा बाकस ।
एउटा दह्रो र ठूलो बाकस
बनाउनु पर्ने भएको छ
प्रत्येक भागहरुलाई मिलाएर राख्न
आफ्नै हातको सिप खन्याएर बलियो
सबैका दुःखहरुलाई बन्द गरिदिन
एउटा बाकस बनाउनु पर्ने भएको छ

Tuesday, January 3, 2012

गज्जबका दिनहरु झुल्किन्छन

वसन्त आएपछि बोटहरुमा पालुवा निस्कन्छन्
नाङ्गा रुखका कङ्गालहरुमा लुगा भरिन्छन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
कसरी उम्रन्छन दिनहरु बिहानीमा
र कसरी मर्छन गोधुलीमा
हामीलाई सोध
हाम्रा आँखाहरु रोपिन्छन
बिहानीसँगै र बिझाउछन् दिनरात भरी
किनकी हामी हिड्ने बाटाभरी
सधै होली खेलिन्छ ।
घुम्ने लागेको बाख्राको शिर झै
मन त्यसै त्यसै घुम्छ
घरै अगाडि परेका खाल्टाहरु देखेर
ती कहिल्यै पुरिएनन्

वसन्त आएर जान लाग्यो
हाम्रा कङ्गालले लुगा फेर्न पाएनन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हाम्रो मन बढेर मुटु भन्दा माथि पुग्छ
र उमाल्छ दिमागलाई
अनि सल्काउन खोज्छ आगो वरिपरि
दुःखको इन्द्रेणीमै रमाउन मज्जा लाग्छ घरिघरि
तर मुटु निरै तीता घाउहरु
आएर झक्झक्याउछन् हामीलाई
यो निदाउने समय होइन

अध्यारो रातमा लमतन्न बिच्छ्याइएको
गुन्द्री सरह पसारिन्छन् समस्याहरु दिउसै
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हिरामोतीहरु फलाम बनेर पिटिन्छन आरनमा
बहुमुल्य धातु बनेर फलाम सजिन्छन
हाम्रा आँखाका नानी भने तल्लीन छन
सिर्जनाको खोजीमा
आजको दिन यसरी झुल्किन्छ
जसले कुनै अर्थ राखेन भोलिको लागि
हामी आजको दुःख पिएर आनन्दको
भोलिको सिर्जना गर्ने बाटोमा छौ
बस हामी त्यही बाटोमा छौ ।