Tuesday, January 3, 2012

गज्जबका दिनहरु झुल्किन्छन

वसन्त आएपछि बोटहरुमा पालुवा निस्कन्छन्
नाङ्गा रुखका कङ्गालहरुमा लुगा भरिन्छन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
कसरी उम्रन्छन दिनहरु बिहानीमा
र कसरी मर्छन गोधुलीमा
हामीलाई सोध
हाम्रा आँखाहरु रोपिन्छन
बिहानीसँगै र बिझाउछन् दिनरात भरी
किनकी हामी हिड्ने बाटाभरी
सधै होली खेलिन्छ ।
घुम्ने लागेको बाख्राको शिर झै
मन त्यसै त्यसै घुम्छ
घरै अगाडि परेका खाल्टाहरु देखेर
ती कहिल्यै पुरिएनन्

वसन्त आएर जान लाग्यो
हाम्रा कङ्गालले लुगा फेर्न पाएनन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हाम्रो मन बढेर मुटु भन्दा माथि पुग्छ
र उमाल्छ दिमागलाई
अनि सल्काउन खोज्छ आगो वरिपरि
दुःखको इन्द्रेणीमै रमाउन मज्जा लाग्छ घरिघरि
तर मुटु निरै तीता घाउहरु
आएर झक्झक्याउछन् हामीलाई
यो निदाउने समय होइन

अध्यारो रातमा लमतन्न बिच्छ्याइएको
गुन्द्री सरह पसारिन्छन् समस्याहरु दिउसै
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हिरामोतीहरु फलाम बनेर पिटिन्छन आरनमा
बहुमुल्य धातु बनेर फलाम सजिन्छन
हाम्रा आँखाका नानी भने तल्लीन छन
सिर्जनाको खोजीमा
आजको दिन यसरी झुल्किन्छ
जसले कुनै अर्थ राखेन भोलिको लागि
हामी आजको दुःख पिएर आनन्दको
भोलिको सिर्जना गर्ने बाटोमा छौ
बस हामी त्यही बाटोमा छौ ।