Saturday, July 9, 2011

तिमीलाई कुरिरहेछु

सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथेँ
एउटी निडर छोरी जन्माएछु भनेर

उहिल्यैदेखि

अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अँध्यारो रात डरलाग्दो थियो
घोडाको टापले थिचे जस्तै गरी
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।

उकालो ओह्रालो

आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ


समयको उछिनपाछिनलाई पच्छ्याउदै

बदलिरहने हावाका झोक्काहरुसँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ

तिमीलाई जन्माउने,
हुर्काउने
तिमीलाई निडर बनाउने पनि मै हुँ
म तिम्री आमा तिमीलाई कुरिरहेछु